• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, November 23, 2009

    नयाँ जापान पुरानो कथा


    फूलमान वल

    भक्तपुरमा जापानी फिल्म महोत्सव सकिएको हप्तादिन नबित्दै काठमाडौंका दर्शकले पनि त्यसको स्वाद चाखे । शुक्रबार जापानी राजदूतावासमै आयोजित दुईदिने महोत्सवमा दर्शकले पुरानो जापानी कथा बोकेका फिल्म 'रेड वियर्ड' देखि यसैबर्ष को ओस्कार  अवार्ड विजेता फिल्म 'डिपार्चर' सम्मको स्वाद लिए ।
    दूतावास हलमा आयोजित महोत्सवको उद्घाटन आकिरा कुरोसावा निर्देशित 'रेड वियर्ड' को प्रदर्शनीबाट गरिएको थियो, जहाँ १९ औं शताब्दीको जापानी सामाजिक आर्थिक परिवेश उतारिएको छ । सन् १९६५ मा निर्माण गरिएको फिल्ममा मानवतावाद र अस्तित्ववादलाई बहसको रूपमा उठाइएको छ । एउटा युवा डाक्टर जो नागासाकीको डच मेडिकल स्कुलमा ट्रेनिङ लिएर ग्रामीण क्षेत्रमा खटिन्छ, सुरुमा ऊ सेवाका लागि तत्पर हुँदैन । जब आँखैअघिल्तिर मर्मस्पर्शी घटनाहरू हुँदै जान्छन्, अन्ततः डाक्टर हुनुको महत्त्व बुझ्छ ।
    १९ औं शताब्दीको इडो (टोकियोको पुरानो नाम) सहरको परिवेशमा निर्मित फिल्म दुई डाक्टर (सिनियर र जुनियर) बीचको अन्तरंग हो । यिनै दुई पात्रमार्फत पुरानो जापानी समाजको वर्गविभेद, आर्थिक(सामाजिक व्यवस्थादेखि नारीप्रति गरिने व्यवहारसम्म उतार्न सफल छन् निर्देशक आकिरा । फिल्म हेर्दै जाँदा धेरै दृश्यमा मध्ययुगीन समाजको झझल्को आउँछ । यौनका लागि प्रयोग गरिएका युवतीहरू अन्त्यन्त दुर्दान्त र नारकीय जीवन बेहोर्छन् । आफूले प्रेम गरेकी युवती कुनै पनि बेला दबाब र शक्तिका कारण अर्कै घरकी बुहारी बन्न सक्छन् ।
    सुगोरो यामामोतोको सर्ट स्टोरी कलेक्सनको 'अकाहिगे सिनर्योतान' कथाबाट प्रभावित फिल्ममा पुरानो जापानी वास्तुशास्त्र, औषधि विज्ञानसमेत देखाउन खोजिएको छ । चलचित्रको अर्को सशक्त पक्ष बाल मनोविज्ञान हो, वेश्यालयबाट उद्धार गरिएका एघार वर्षीया किशोरी र चोरी गर्ने एक बालक पात्रमार्फत यो व्यक्त हुन्छ । हप्काइ र पिटाइ खेप्दै हुर्किरहेकी किशोरी जब उद्धार भएर डाक्टर नोबुरु यासुमोतोको क्लिनिक आइपुग्छे, त्यहाँ उसले पाउने प्रेम र मायाप्रति ऊ स्वयं विस्वस्त हुन्न र बालसुलभताका साथ सोध्छे, 'तपाईंहरूचाहिँ किन मलाई पिट्नु हुन्न ?' फिल्ममा युवा डाक्टर यामामोतोको भूमिकामा युजो कायमाले निकै मर्मस्पर्शी अभिनय गरेका छन् ।
    जापानी दूतावास र जापानी ल्याङ्ग्वेज टिचर एसोसिएसनले आयोजना गरेको महोत्सवको अन्तिम दिन शनिबार आकिराकै 'योजिम्बो' (अंगरक्षक), हयाओ मिजायाकी निर्देशित 'पि्रन्सेस मोनोनोके' (राजकुमारी मोनोनोके) र ताकिया योजिरो निर्देशित 'डिपार्चर' (अवसान) देखाइएको थियो । सन् १९६१ मा निर्माण गरिएको 'योजिम्बो' पनि पुरानो जापानी समाजको कथा हो, तर प्रस्तुति शैली, शिल्प र अभिनयको हिसाबले फिल्म निकै माझिएको मात्र नभई यथार्थको नजिक पुर्‍याएको अनुभूति दिलाउँथ्यो, मानौं दर्शक जापानी राजदूतावासको हलभित्र होइन कि पुरानो जापानी समाजभित्र बाँचिरहेको छ । यो फिल्म आपराधिक सामन्तहरू र जुवा खेली धन आर्जन गर्ने ध्येयले सहर पसेका एक लडाकु (रोनिन) बीचको कथा हो ।
    'पि्रन्सेस मोनोनोके' चाहिँ एनिमेटेड फिल्म हो । सन् १९९७ मा निर्मित फिल्ममा देवता र मान्छेबीच युद्ध भएको पुरानो जापानी मिथकलाई उतारिएको छ । ताकियोको 'डिपार्चर' आधुनिक जापानी पुस्ताको कथा हो, जहाँ जापानी मृत्यु संस्कारसँग सम्बन्धित एउटा मर्मस्पर्शी सन्दर्भलाई कथानक बनाइएको छ । दाइगो नामक सेलोवादक युवक आफ्नो संगीत समूह विघटन भएपछि श्रीमती मिकासँग गाउँ फर्किन्छ । बेरोजगार दाइगो दाहसंस्कारपूर्व गरिने शुद्धीकरण कार्यका लागि सहयोगीको आवश्यकता लेखिएको विज्ञापन पछ्याउँदै अन्तरवार्ताका लागि पुग्छ, जागिर मिल्छ । तर, उसले त्यसबापत श्रीमतीको माया गुमाउनुपर्छ, यसकारण कि दाहसंस्कारका लागि शव तयार पार्ने काम श्रीमती मिका घृणित ठान्छे ।
    तैपनि दाइगो कामप्रति इमानदार रहन्छ । तिरस्कार गरेर गएकी श्रीमती पनि गर्भधारणका कारण फर्केर आउँछे । ठीक यसैबेला आफूलाई सानैमा छाडेर गएका बुबाको मृत्युको खबर आउँछ । सम्पूर्ण तिक्तता बिर्सेर दाइगो बुबालाई अन्तिम बिदाइ गर्न तयार हुन्छ । सन् २००९ को ओस्कार अवार्डअन्तर्गत वेस्ट फरेन ल्याङ्ग्वेज मुभी अवार्ड चुम्न सफल फिल्ममा मर्मस्पर्शी कथानकमार्फत जापानी परम्परागत मृत्युसंस्कार
    देखाउन खोजिएको छ । 'फिल्मको अभिनय र प्रस्तुति शैली मनपर्‍यो,' बिहीबार जापानी दूतावासमा भेटिएका कपनका सन्देश लोप्चनले सुनाए, 'जापानी मुत्यु संस्कार त हाम्रै तामाङ जातिसँग मिल्दो रहेछ ।' दाहसंस्कारअघि शवलाई सफासुग्घर गर्ने, राम्रो कपडा पहिराइदिने र सजाएर पूजा गर्ने संस्कार तामाङ समुदायमा पनि रहेको दाबी गर्दै उनले भने, 'यस्तो विषयमा पनि यति मार्मिक फिल्म बन्दो रहेछ ।'

    http://www.ekantipur.com/np/news/news-detail.php?news_id=302385

    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete