• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, October 27, 2009

    जापानमा बिताउनु परेको पीडादायी दुई साता


    http://www.mysansar.com/temp/3934.html#more-3934
    मधु लम्साल
    एसियाकै वैभव मुलुक जापान भ्रमणको अवसर मिल्दा कसको मन पो फूरुङ नहोला? बलियो अर्थतन्त्रका कारण विश्वमा शक्तिशाली मध्ये गणनामा पर्ने देश, त्यसमा पनि उच्च टेक्नोलोजीको मुलुक जापानको भ्रमण गर्ने र त्यहाँको विकास बारे नजिकबाट जान्ने, देख्ने र बुझ्ने अवसर सम्भव भएसम्म कसले पो फुत्काउन खोज्ला। हिन्दुहरुको महान् पर्व दशैंको टिकाको पर्सिपल्ट म लगायत विभिन्न स्कुलका विद्यार्थी र शिक्षकसहित २७ जनाको एक टोली सिंगापुर ‘ट्रान्जिट’ पार्दै टोकियोको नारिता विमानस्थलमा अवतरण गर्‍यौं।
    मानिसले वास्तवमा जे गर्छ सर्वप्रथम खानकै लागि गर्छ, सबैथोक भएर पनि समयमा अर्थात् भोक लागेको बेला खाना खान पाएन भने उसमा केही गर्ने चाहाना त कुरै छाडिदिउँ, शक्ति समेत हुँदैन। त्यसो भएको खण्डमा उ अल्छी र बेकामी बन्दछ। म खानामा असजिलो अर्थात् मिठो–नमिठो भनेर खाना रोज्ने या दोष लगाउने व्यक्ति थिइनँ। तर, पनि शाकाहारी भएकाले बाध्यताबस कहीँकतै असजिलो भने बन्नु पर्दोरहेछ। जापान भ्रमणकै सिलसिलामा भ्रमणको पहलकर्ता संस्थालाई मैले आफू साकाहारी भएको अग्रिम जानकारी गराइसकेको थिएँ र जहाजमा यात्रा गर्दा पनि त्यहीँ खाना बारे टिपाउन बारम्बार सम्झाएको थिएँ। तर, त्यसबारे गम्भीरता नदेखाइएकाले काठमाडौंबाट जाँदैदेखि मैले खानाको सन्दर्भमा समस्या भोगिरहनु पर्‍यो।
    जहाजमा मात्र नभएर झन् जापान पुगेपछि त त्यो समस्या मेरा लागि असहज नै बन्यो। रेष्टुरेन्टमा मात्र होइन, घर या अतिथिगृहमा समेत शाकाहारी खाना सहज उपलब्ध हुँदोरहेनछ। चिकेन, विफ या अन्य कुनै न कुनै प्रकारका ‘ननभेज आइटम’ मासु, माछा, सिफुड वा अण्डा नमिसाइएको खाना जापानमा कहीँकतै पाउनै मुस्कील। शाकाहारी भनिने तर पनि सिफुड, अण्डा या मान्छा हालिएकै हुने। मसँगै गएका सबैलाई जापनीज खानाको स्वाद मन नपरे पनि स्वीकार्य हुने तर, मलाईं भने स्वाद होइन, त्यहाँ मिसाइएको ‘नन् भेज आइटम’ले नै दूरदूर पारिरहेको हुन्थ्यो। बिहान खायो, दिउसो कस्तो खान पाइला भन्ने चिन्ता, दिउसो खायो बेलुकीको। एक दिन, दुई दिन, तिन दिनसम्म त भोक मार्ने प्रयास गरेँ। त्यस्तो अवस्थाले धेरै दिन गुजार्न सम्भव नहुने भएपछि त्यसको विकल्प खोज्नै पर्‍यो। शाकाहारीबाट मांसाहारी हुन मन नमाने पनि माछामासु झिक्न मिल्दासम्म झिकेर खाएँ। तर, मिसाइएको अवस्था भएमा फलफूल, जुस र ब्रेडमै पनि चित्त बुझाएँ। कसैसँग कुनै गुनासो गरीन। किनकि, शाकाहारी भएकाले मात्रै अप्ठ्यारो परेको हो, उपलब्ध खानामा गुनासो गर्ने ठाउँ नै थिएन।
    टेक्नोलोजीमा निकै विकसित मुलुक जापान पसेको पाँच–छ दिन पुगिसक्दा पनि कहीँकतै फोन या इमेल सम्पर्क गर्न नपाउँदा भने भोकै बस्नु पर्दाको भन्दा बढी मन खिन्न थियो। एकातिर मन अघाउने गरी खान नपाइनु, अर्कोतर्फ घरमा पनि खबर गर्न नपाउँदा मनमा दुःख लाग्नु स्वाभाविकै हो। मैले मात्रै होइन, अरु कसैले पनि घरमा सम्पर्क गर्न पाएका थिएनन्। जापान नपुग्दासम्म त्यहाँका बारे जे जे सुनिएको थियो, जापानका बारे मनले जे कल्पना गरेको थियो, त्यो एक एक गर्दै खरानीमा परिणत भइरहेको अनुभव हामीले बटुल्दै थियौं। पत्रकारिता पेशामा लागेकाले खानाको भन्दा पनि म समाचारको भोको थिएँ र नेपालका खबरपत्रिकाहरुमा समाचार पठाउनका लागि भनेर त्यहाँका कम्प्यूटरमा टाइप गर्न समस्या पर्न सक्ने सम्भावनालाई ख्याल गर्दै आफूले नेपालमा रहँदा प्रयोग गर्ने गरेको पुरानै मोडलको भए पनि ल्यापटप लगेको थिएँ। त्यो दिनदिनै बोकेर हिँड्ने भारी बाहेक कुनै पनि प्रयोगमा ल्याउन पाइएन। इन्टरनेट क्याफे खोज्दै एक्लै बजारतिर डुल्न सक्ने अवस्था थिएन, लगिदिनेले लैजान चाहेनन्। फोन बुथको अभावमा फोन कार्ड किनेर घरमा फोन गर्न समेत हामीलाई समस्या पर्‍यो। कारण सार्वजनिक वुथमा प्रयोग गरिने कार्डबाट इन्टरनेशनल कल कनेक्सन हुनै गाह्रो, भइहाले पनि निकै महंगो। नेपालबाट मिनेटको दुई तिन रुपैयामा सम्पर्क गर्न सकिने फोन जापानबाट गर्दा एक सय रुपैया भन्दा माथि पर्दो रहेछ। हामी ठूला उमेरका व्यक्तिको त कुरै नगरौं, हामीसँगै जापान भ्रमणमा गएका ५, ६ कक्षामा अध्ययनरत् स–साना विद्यार्थी भाइबहिनीको के हाल भयो होला? एकातिर स्वाद मन नपरेका कारण उनीहरु आधा पेट खाएर उठ्थे र आफूले नेपालबाटै ल्याएका चाउचाउ, विस्कुट र मिठाइले भोक मारिरहेका हुन्थे। एक सातासम्म घरमा फोन सम्पर्क गर्न नपाउँदा ती भाइबहिनीहरु ‘होमसिक’ जस्तै देखिन्थे। तर, पनि उनीहरुलाई सम्झाउँदा सम्झन्थे पनि। तर, हामी ठूला मान्छे आफैँ सम्झने ठाउँ थिएन।
    घरीघरी सोच्दथेँ भ्रमणका नाममा सास्ती पो दिन ल्याइएको रहेछ, क्यारे! एकातिर पेटभरी खान नपाइने, अर्कोतिर स्वाद मन नपरेर पेट अघाए पनि मन नअघाउने। जे खाए पनि गुलियो र फ्रिजमा राखिएको चिसो मात्रै। त्यहाँ बासी र जुठो खाना भन्ने त सामान्य रहेछ। आज धेरै भयो भने त्यो खाना भोलीका लागि राखिने। बिहान उठ्ने बित्तिकै चियाको लतमा पल्केका हामी जापान बसाइको दुई सातासम्म चिया पिउनबाट वञ्चित जस्तै भयौं। नुनीलो खान बानी परेका हाम्रो शरिरलाई चाहिने नुनको मात्रा कम हुँदा कसैमा पनि जाँगर थिएन।
    जापान पुगेदेखि ‘फोन फोन’ भनेर कराउँदा पनि भ्रमणको व्यवस्थापन मिलाउने संस्थाका अगुवाले हाम्रो कुरो सुन्नै चाहेनन्। बरु, प्रतिउत्तरमा उनले हामीलाई भन्थे, ‘भ्रमणमा हिँडेको व्यक्तिले घरमा फोन गर्ने सिष्टम जापानमा छैन। यहाँ त फोन गर्नुलाई कुनै समस्या परेको भन्ने ठानिन्छ। तिम्रो घरपरिवारलाई थाहा छ कि मेरो बच्चा दुई साताका लागि जापानको भ्रमणमा गएको छ भन्ने। यदि तिमीहरु बिरामी पर्‍यौं भने हामी आफँै सम्पर्क गरिहाल्छौं। अहिले तिमीहरु ठीक छौं, जापानको भ्रमण अभिरुचीपूर्वक गरिरहेका छौं भन्ने म्यासेज हाम्रो काठमाडौं कार्यालयले हाम्रो सूचनाका आधारमा सबैका घरघरमा दिइरहेको छ’, यस्तै यस्तै भन्दै उनले हामीलाई फोन र इन्टरनेटबाट टाढा राखिरहेका हुन्थे। हुन त हामीसँग पैसा नभएर फोन र इन्टरनेटका लागि अरुको आश गरेका थिएनौं। शहरबाट केहीपर जंगलको मध्यभागमा हाम्रा लागि बसोबासको व्यवस्था मिलाइएकाले शहरसम्म आउन हामीलाई समस्या थियो। यातायात पुगेको र जंगलकै बिचमा भए पनि नेपालको पाँच तारे होटल भन्दा स्ट्याण्डर थियो हाम्रो बसोबासको व्यवस्था। तर, त्यहाँ फोन र इन्टरनेटको सुविधा भने थिएन। बिहान उठ्ने बित्तिकै ब्रेक फास्ट गराएर बस चढाउने र दिनभरी कार्यक्रम सेड्यूलअनुसार घुमाएपछि साँझ त्यही सेन्टरमा फर्काइन्थ्यो। भ्रमणका सिलसिलामा जहाँजहाँ पुगियो, जे जे अवलोकन र अनुभव गरियो, त्यसको प्रशंसा पहलकर्ता संस्थालाई जति गरे पनि कमै हुन्छ। किनकि, हामीले घुमेका ठाउँ निकै महंगा र खर्चिलो पनि थियो। यदाकदा हामीहामी कुरा पनि गथ्यर्ौं, ‘यत्रो खर्च गरेको छ, यस्ता यस्ता ठाउँमा ल्याएको छ तर पनि किन फोन र इन्टरनेटबाट वञ्चित गराएको होला?’ फोन आओस्–नआओस् चौविसै घन्टा हातमा मोवाइल फोन बोकेर हिँड्ने बानी परेका हामीहरुलाई एक्कासी सम्पर्कबिहीन जस्तै अवस्थाले अप्ठ्यारो महसुस हुनु स्वाभाविक नै हो। एक दुई पटक कार्ड किनेर फोन गर्ने प्रयास नगरेका पनि होइनौं तर, सम्पर्क नै नहुने। बस या टे्रन चढ्ने क्रममा कतैकतै सार्वजनिक फोन देख्नासाथै हामी त्यतैतिर झुम्मीन्थ्यौं तर, त्यस्तो अवस्थामा हामीलाई देखेको खण्डमा हाम्रा लिडर (जापानीज) रिसाउँदै डाकिहाल्थे। सातौं दिनका दिन एक दुई जनाको घरमा फोन सम्पर्क हुँदा घरपरिवार निकै अत्तालिएको थाहा लाग्यो।पत्रकार भएका नाताले पनि मलाई एक दुई वटा मेल पठाउन मन लागेको थियो तर, त्यो नहुँदा मन खिन्न भइरहन्थ्यो। घरीघरी आफूलाई सोच्दथेँ कि पिँजडाको पन्छी हुँ कि बधुवा जनावर? अझै चिडीयाखानामा रहेको बाघ जसले आफूले शिकार गर्न पाउँदैन अड्कलेर दिएको मासुमा रमाउनु पर्छ, त्यस्तै अवस्था थियो हाम्रो जापानमा। जापानका विभिन्न ठाउँमा त्यत्रा नेपाली भएर पनि उनीहरुको अवस्था के छ भन्ने बारेमा जान्न पाइएन। न त नेपाली दूतावास नै देख्न पाइयो। उनीहरुको कार्यक्रम तालिकाअनुसार चल्नु पर्दा धेरै महत्वपूर्ण ठाउँ घुम्न र देख्न पाएर पनि मन भने असन्तुष्ट नै थियो। हुन त यत्रो संख्यामा रहेका हामी सबैलाई स्वतन्त्र छाड्न पनि उनीहरुलाई अप्ठ्यारो नै थियो, कसैले कहाँ जाने कसलाई भेट्ने भन्लान्, कसले कसलाई। त्यसैले पनि उनीहरुकै सेड्यूअल नै उत्तम हो र थियो पनि।यही बीच एक जना जापानीज साथी जोसँग कार थियो, उनको सहयोगमा राती अवेर साइवर क्याफे पुगेँ। टेक्नोलोजीमा निकै विकसित भनेर के गर्नु? साइवर छिरेको पौने घन्टा नबित्दै १६ सय यान तिर्नु पर्‍यो, त्यसपछिका दिनमा त इन्टरनेटको मामिला पनि छाडिदिएँ। किनकि, एक घन्टाको पन्ध्र बीस रुपैया बुझाएर नेटमा बस्न पल्केका हाम्रा लागि त्यो ठूलो रकम थियो।जापानको भ्रमण समग्रमा भन्नु पर्दा मेरो लागि उपलब्धिमूलक हुन सकेन। दशौं हजारको संख्यामा नेपाली रहेको जापानमा दुई साता बिताउँदा समेत एकजना नेपाली भेट्न नपाउँदा र जापानमा नेपालीको अवस्था बारे एउटा पत्रकार भएका नाताले हेर्न बुझ्न नपाउँदा आफ्नो भ्रमण उपलब्धीमुलक भयो कसरी भन्ने? आँखाले मात्र शहर देख्नु त फिल्म र टेलिभिजनमै पनि देखिएको थियो, देखिने उपलब्धी भनेको राहदानीमा भिसा लाग्यो भनेर चित्त बुझाउने र एक दुई वटा रमाइलो अनुभव बाहेक केही भएन।जापानजस्तो देशमा दुई दर्जन बढीलाई खुवाउने, बसाउने र डुलाउने सामान्य कुरा होइन र पनि आफूखुसी घुम्न बन्देज लगाइनु र फोन सम्पर्कबाट टाढा राखिनुको रहश्य बुझीनसक्नु थियो।कहिले आलु उसिनेर त कहिले ब्रेड झोलामा राखेर दिउँसोलाई साँच्नु पर्ने अवस्था मलाई थियो। जब खानेबेला हुन्थ्यो तब भ्रमणको व्यवस्थापन मिलाउने लिडर (जापानिज) मतिर हेरेर मन बिगार्थे। कारण मेरो खानाको कारणले उनलाई धेरैथोरै टेन्सन हुने गर्थ्यौं। कहिलेकाहीँ त निस्तो भातको डल्लो अर्थात् (पिण्ड)जस्तै बनाइएको भात खाएर पनि हिँडियो। साथीहरुले जिउँदै पिण्ड खाएको भन्दै जिस्क्याउन थालेपछि त्यो खान पनि मन मानेन। एक साँझ अति नै भएपछि मैले भ्रमणको व्यवस्थापनकर्तासँग आक्रोसित मुद्रामा गुनासो पनि पोखेँ, ‘जापानजस्तो टेक्नोलोजीमा निकै अगाडि रहेको देशमा आएर पनि न फोन छ, न इन्टरनेट। भोकभोकै हिँडेर केको भ्रमण? मलाई भोलिदेखि कहीँ जानु र केही हेर्नु छैन नेपाल फर्काइदेऊ।’ मैले भनेको यो कुरालाई नेपाली साथी जो दोभाषेको भूमिका निर्वाह गर्थे उनले कसरी भने त्यो थाहा नपाए पनि त्यसपछिका दिनमा ती लिडर मसँग बोल्नै छाडे।यहीँबीच हामीलाई घुमाउने मध्येकै अर्का जापानीसँग इशाराकै आधारमा टोक्योमा रहेका साथीसँग कुरा गर्न मोवाइल मागेँ र उनले दिएपछि नम्बर हेरेर डायल पनि गरिहाले। जापानमा पत्रकारिता गर्नु हुने साथी (तिलक मल्ल)सँग मेरो कुराकानी भयो र हामी रहेको स्थानको बारेमा जानकारी दिन मैले जापानीलाई फोन दिएँ। हामीलाई भेट्न चाहेका साथीले जापानीसँग कुराकानी गरेपछि मात्र पो हामीलाई थाहा लाग्यो कि हामीलाई अरुसँग सम्पर्क हुन नदिनुको रहश्य अरु केही नभएर जापानमै लुक्छन् भन्ने परेको रहेछ। त्यो जानकारी पाएपछि हाम्रो मनमा फेरि अर्को कुरा खेल्न थाल्यो, ‘या त भ्रमण गराउनै हुन्नथ्यो, गराइसकेपछि त्यो रिस्क लिन सक्नु पर्थ्यो। एक दुई जना प्रतिको शंकाले सबैलाई सास्ती तुल्याउन हुँदैनथ्यो र भ्रमण टोलीमा छनोट गर्नु पूर्व नै जापानमा लुक्न बस्न नै नसक्ने व्यक्तिहरुको चयन गरिनु पर्थ्यो।’ तर, भ्रमणको पहलकर्ता संस्थालाई पनि दोष दिने ठाउँ रहेनछ, कि यसअघि त्यसरी नै गएकाहरु लुकिदिएकाले हामी समस्या भोग्न बाध्य भएका रहेछौं। साथै नेपाली स्वादको खानाको पनि उचित व्यवस्था गर्न सकिने सम्भावना हुँदाहुँदै पनि जापानी स्वाद नै खान बाध्य पारियो। त्यसबारेमा पनि उनीहरुको सहज जवाफ थियो, ‘तिमीहरु जापानको भ्रमणमा आएका छौं, यहाँ आउनु भनेको ठूलाठूला महल, विभिन्न यातायातका साधन र अन्य टेक्नोलोजी मात्रै हेर्ने नभएर यहाँका नागरिकको रहनसहन, रितिरिवाज, संस्कृतिका साथै उनीहरुको अनुशासन र अरुलाई गर्ने सत्कार बारे पनि त जानकार हुनु पर्‍यो। यतीका वर्ष नेपाली खाना खायौं, दुई साता जापानी स्वादलाई पनि अनुभव गर न।’ जापानी लिडर बरबराउँदै भनेको कुरा हामीलाई दोभाषे साथीले नेपालीमा सुनाउँदै थिए, ‘नेपालीहरु बिहान र बेलुकी टन्न हुने गरी खान्छन् अनी अरु समय भोकभोकै बिताउँछन्, त्यो राम्रो होइन। जापानीजहरु थोरै खान्छन्, खाइरहन्छन्। त्यसमा पनि क्यालोरी मिलाएर खान्छन्।’ त्यती भन्दै उनी केही उत्तेजीत हुँदै मतिर फर्केर मलाईं जापानीमा भनेको कुरा दोभाषेले सुनाए, ‘जापानमा शाकाहारी छैनन्। तँ झारपात मात्रै खान्छस्, त्यसैले धेरै बाँच्दैनस् र बलियो पनि छैनस्।’मैले त्यसअघि नेपाल फर्काइदे भन्दै रिसाएको, खानाको विषयमा बारम्बार असन्तुष्टि पोखेकै कारण उसले मलाई त्यसरी आक्रोस पोखेको हो भन्ने बुझेँ तर पनि कुनै प्रतिक्रिया फर्काउन चाहिन। किनकि, हामी स्वदेश फर्कने समय दिनबाट अब घन्टामा झरिसकेको थियो, त्यसैले पनि प्रतिक्रिया जनाउन चाहिन।जेहोस्, जापानको भ्रमणबाट मन उत्साहित नभए पनि तितामिठा धेरै अनुभव बटुल्न पाइयो। विदेश जाँदा सबैभन्दा ठूलो समस्या शाकाहारी खानामा हुँदोरहेछ भन्ने पनि अनुभूति भयो। भेँडाबाख्राकै तालमा जापानको भ्रमण पूरा गरेर फर्किइयो। सायद, जापानी पनि हामीलाई एअरपोर्टबाट भित्र हुलेपछि चिन्तारहित भएर थकान मेटेको हुनुपर्छ। अबका दिनमा विदेश जाने अवसर प्राप्त हुनु पूर्व नै शाकाहारी खानासँगसँगै फोन इमेलको सुविधा हुन्छ कि हुन्न भन्ने बारेमा जानकारी लिनु पर्दोरहेछ भन्ने मलाई राम्ररी चेत खुलेको छ। जसरी जापान जान पाउँदा के के न लागेको थियो, फर्कँदा झोक्राएर फर्कनु पर्‍यो।





    No comments:

    Post a Comment