• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 13, 2009

    ट्रलिबस बने माओवादीका घर


    के मात्रै छैन यहाँ... !: माओवादी कार्यकर्ताहरूले घरका रूपमा प्रयोग गरेको मीनभवनस्थित ट्रली कार्यालयमा रहेको बस ।

    (तस्वीर : लक्ष्मीप्रसाद ङाखुसी )

    भीम घिमिरे

    काठमाडौं, खाना पाक्छ भान्सा होइन, मान्छे सुत्छन् घर होइन, के हो ? यो कुनै गाउँखाने कथा होइन । यसको जवाफ हो, ट्रलिबस ।

    कुनै बेला काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म गुड्ने ट्रलिबस अब यस्तै 'भान्सा' र 'घर' मा परिणत भएका छन् ।

    राजधानीको मीनभवनस्थित ट्रली कार्यालयमा बुधबार युवा दिवसमा वातावरणमैत्री कार्यक्रम भइरहेका बेला परिसरस्थित बाअघ ५१३ नम्बरको बसभित्रै खाना पाकिरहेको थियो । यहाँ थन्किएका दुई ट्रलिबस अहिले घरजस्तै छन् ।

    ओछ्यान, ग्यास चुलो, पंखा र टेलिभिजनका साथै एउटा परिवारका लागि आवश्यक लगभग सबै दैनिक उपभोग्य सामग्री यहाँ छन् । बसमा माओवादीको सांस्कृतिक टोलीका कलाकार बसेका हुन् । एउटामा नानीसहित चार जनाको परिवार छ । अर्कोमा कलाकारहरू सुमिना र डोल्साङले डेरा जमाएका छन् ।

    युवा दिवसको कार्यक्रमका सहभागीले भने बुधबार परिसरकै अरू दुई गाडीलाई दुलाहदुलही बनाएर बिहे गरिदिए । उनीहरूले ट्रलीजस्तै प्रदूषणरहित सवारीको आवश्यकतामा जोड दिइरहेका थिए । ब्ााअप ५१६ नम्बरको ट्रलीको झ्यालबाट चिहाउँदै माओवादी कार्यकर्ता सुमिना लामाले बसको बासबारे प्रतिक्रिया दिइन्, 'हामी सर्वहारालाई बास भए पुग्छ के घर, के बस !'

    ट्रलिबसको बास एक वर्ष पुग्न लागेको उनले बताइन् । अन्त बस्नेसुत्ने ठाउँ अपुग भएपछि ओतका लागि ट्रलीमा बस्न थालेको उनको भनाइ छ ।

    चीन सरकारको सहयोगमा २०३२ सालदेखि सञ्चालित ट्रलिबस २०५२ देखि घाटामा जान थालेपछि २०५८ मा बन्द भएको थियो ।

    यसलाई सरकारले पुनः सञ्चालनका लागि काठमाडौं, भक्तपुर र ठिमी नगरपालिकाको जिम्मा दिएको थियो । २०६० सालमा चल्न थाले पनि यसले लामो समय निरन्तरता पाउन

    सकेन । हाल सञ्चालन नभए पनि उपमहानगरपालिकाका कर्मचारी र प्राविधिक गरी २८ जना हाजिरी गर्दै तलब खाँदै बसेका छन् । अहिले यो सेवा पुनः सञ्चालनको कुनै योजना नभए पनि कर्मचारीको जीविका भने यसका भौतिक सम्पत्ति भाडामा लगाएर चलेको छ । राजधानीको अति महँगो ठाउँको २९ रोपनी ओगटेको मीनभवनस्थित कार्यालय परिसरमा ३२ बस थन्किएका छन् । गत वर्षदेखि माओवादी कार्यकर्ताहरूले आश्रयस्थल बनाएको ट्रलिबस सेवाको कार्यालय परिसरमा उनीहरूले च्याउ खेती थाल्ने तयारीसमेत गरेका छन् ।

    माओवादी कार्यकर्ताले किन यसलाई आश्रयस्थल बनाएका हुन् भन्ने विषयमा कर्मचारी बोल्न असजिलो मान्छन् । कार्यालय प्रमुख पुण्य भण्डारी भन्छन्, 'बदलिएको राजनीतिक परिस्थिति थाहै छ, उनीहरूका विषयमा किन सोध्नुहुन्छ ?

    No comments:

    Post a Comment