• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, July 26, 2009

    प्रहरीलाई ब्लफकल

    जितेन्द्र साह

    काठमाडौं, लैनचौरस्थित दुग्ध विकास संस्थान नजिक घरमा आगलागी भएको फोन प्रहरीको १०० नम्बरमा फोन आयो । दमकललाई खबर गरी प्रहरी टोली त्यहाँ पुग्दा आगलागी भएको थिएन ।

    गोंगबुको दिपज्योति चोकमा गुण्डा समूहबीच झगडा भइरहेको प्रहरी कन्ट्रोलमा खबर भयो । सुरक्षाकर्मी पुग्दा त्यहाँ सुनसान थियो । महानगरीय प्रहरी कन्ट्रोल कक्षमा यो साता आएका ब्लफकलमध्ये यी दुई रोचक उदाहरण हुन् । कन्ट्रोल कक्षको इन्चार्ज एसपी योगेन्द्र कटुवालका अनुसार नागरिक सुरक्षाका लागि राखिएको सय नम्बरका आठ टेलिफोनमा दैनिक करिब ३ सय कलमा झन्डै ५० प्रतिशत ब्लफकल हुने गर्छन् । त्यस्ता कलमा फोन गरेर नबोल्ने र रमाइलो गर्न झुटो खबर दिने गरेका छन् ।

    कन्ट्रोल कक्ष व्यस्त हुनाले कलको सबै रेकर्ड राख्ने गरेको छैन । अपराध नियन्त्रण गर्न राखिएका यी फोनको संवेदनशीलता अधिकांश सहरवासीले नबुझेको कटवालको ठम्याइ छ । उनका अनुसार सय नम्बरमा आउने सूचनाका आधारमा विभिन्न संवेदनशील घटना एवं अपराध नियन्त्रणका लागि काठमाडांैमा ४०, ललितपुरमा १० र भक्तपुरमा १० कन्ट्रोल रुम भेहिकल्स -सीआरभी) राखिएको छ ।

    'कन्ट्रोलको निर्देशनमा पुग्ने सीआरभी टोलीले स्थानीय प्रहरी र थप सुरक्षाकर्मीलाई बोलाउँछ,' एसपी कटुवालले भने, 'समयमा फोन गर्दा तुरुन्तै प्रहरी परिचालन हुने हुनाले आपतविपतमा मात्र कल गर्नुपर्ने सन्देश जानु उतिकै आवश्यक छ ।'

    'आपराधिक तत्त्वहरूले मानसिक विचलन ल्याउन र गलत सूचना दिएर कन्ट्रोलको फोन व्यस्त गर्छन्,' उनले भने, 'धेरैको मनसाय दुःख दिएर र त्रास फैलाएर आनन्द लिनु हुन्छ ।' कतिले त रक्सीको नशामा एसपी र डीएसपी भएको भन्दै भनेअनुरूप नगरेमा जागिर खतम पारिदिने भन्दै फोन उठाउने प्रहरीलाई धम्क्याउने र अश्लील गाली दिने प्रहरीको अनुभव छ ।

    'उपल्ला प्रहरी अधिकृत बनेर परिचय दिएपछि जय नेपाल भन्नैपर्छ,' कन्ट्रोलका एक प्रहरीले भने, 'सबैलाई चिनेको हुँदैन, बुभmदै जाँदा त ब्लफकल हुँदोरहेछ ।'

    एसपी कटुवालका अनुसार कतिले त राम्रो मनसाय राखेर पनि यस्तो झुटो कल गर्छन् । 'वरिपरि असुरक्षा महसुस गर्दा वा प्रहरीको गस्ती टोली नघुमेको देख्दा ब्लफकल गर्छन्,' उनले भने, 'उनीहकरूको उद्देश्य आफ्नो क्षेत्रमा प्रहरी घुमिदियो भने अपराधी निरुत्साहित हुन्छन् भन्ने हो ।'

    दैवी प्रकोप र आपतविपतमा काम लाग्ने दमकलको १०१ नम्बरमा यस्तै ब्लफकल आउने गर्छन् । वसन्तपुर दरबारस्थित दमकल कार्यालयका प्रमुख अग्नि नियन्त्रक कमान्डर वासुदेव हेंग्जुका अनुसार दैनिक रूपले आउने २ सयदेखि ३ सय कलमा १०/१२ वटा मात्र सही हुन्छन् । 'आगलागीको सूचनाभन्दा जिस्कनलाई बढी फोन गर्छन्,' उनले भने, 'तलमाथि र वरिपरि आगो लागिरहेको भनेर फोन गर्छन्, कहाँ भनेर सोध्दा अश्लील जबाफ दिन्छन् ।' हेंग्जुका अनुसार ब्लफकल राति बढी आउने गर्छ ।

    प्रहरी कन्ट्रोल कक्ष र दमकलका कर्मचारीका अनुसार गर्मी र जाडो बिदा भएपछि यस्ता ब्लफ बढी आउने गर्छन् । 'अरूको नम्बर र ठेगाना सोधेर हैरान पार्छन्,' एक प्रहरीले भने ।

    अभिभावक घरमा नभएको बेला दिउँसो बालबालिकाले र अबेर राति महिलाले यस्तो फोन गरेको अग्नि नियन्त्रक कमान्डर हेंग्जुले बताए । 'कक्षामा शिक्षकले भनेको र पुस्तकमा नम्बर हेरेर फोन गरेको बालबालिकाले बताउँछन्,' उनले भने ।

    हेंग्जुले पटकपटक आउने यस्ता फोन गर्नेबारे पत्ता लगाएर टेलिकमको सहयोगले प्रहरी र स्थानीय प्रशासनमा खबर गर्ने गरेको बताए । आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरेर आरोपको गम्भीरता हेरेर प्रहरीले दोषी पक्षलाई कारबाही गर्ने गरेको उनले बताए ।

    फेला परेकालाई पनि केही सार्वजनिक अपराध ऐनअनुरूप कारबाही गर्ने अवस्था नआएको कटुवालले बताए । 'फेरि यस्तो गतिविधि नदोहोर्‍याउने सर्तमा दोषी व्यक्तिलाई सम्झाइबुझाइ परिवारजन वा नागरिक समाजको जिम्मा लगाउँछौं,' उनले भने । प्रहरी र दमकल कार्यालयका मात्र नभएर ट्राफिक कन्ट्रोलको १०३, टेलिकमकै १९७, अस्पताल र एम्बुलेन्सलगायतका विभिन्न आकस्मिक सेवाका कर्मचारी पनि यस्ता कलबाट हैरान देखिन्छन् ।

    No comments:

    Post a Comment